सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा, प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन आह्वान

१८ साउन ०८१, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएसँगै प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

मुख्यमन्त्री सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आज शुक्रबार आह्वान गरेका हुन् । उनले मुख्यमन्त्रीमा आइतबार साँझ ५ बजेभित्र दाबी पेश गर्न समय दिइएका छन् ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले प्रदेश प्रमुखले संविधानको धारा १६८ को (२) उपधारा बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गरेको जानकारी दिए ।

एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा एमालेले केन्दमा काँग्रेस–एमाले गठबन्धन बनेपछि २० असारमा फिर्ता लिएको थियो ।

समर्थन फिर्ता लिएको ३०औँ दिन शुक्रबार मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए ।