कोशीमा मुख्यमन्त्रीमा असमझदारी हुँदा गठबन्धनबाटै दुईजनाको दावी

२६ असोज ०८०, काठमाडौं । कोशी प्रदेशमा नेकपा (माओवादी केन्द्र) नेतृत्वमा गठबन्धनको सरकार बनाउन काँग्रेसको शेखर समूहले सहयोग गर्न नसकिने बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाले कोशीमा केदार कार्की पक्षबाट भएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेपछि शेखर समूहले सहयोग गर्न नसकिने बताएको हो ।

उक्त समूहका एक नेताका अनुसार राष्ट्रपति पौडेल र सभापति देउवाको निर्देशनमा नेता ज्ञानेन्द्रबहादुुर कार्कीले फोन गरेर शेखर समूहलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए ।

प्रतिउत्तरमा शेखर कोइरालालाई उदृत गर्दै सो समूहका नेताले भने, ‘कोशीमा म व्याक हट्न सक्दिनँ । पार्टीबाट नै मुख्यमन्त्री बनाऔं । आफ्नो समूहबाट नभए अर्कोमा जाऔं भन्न सक्नुभएन । कांग्रेसबाट यही नाम र यही व्यक्ति हुनुपर्दछ भनेको थिइनँ । कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्दछ मात्रै भनेको थिएँ ।’

यतिबेला कोशीमा सरकार गठनबारे गठबन्धनमै असमझदारी हुँदा गठबन्धनबाट आधिकारिक रूपमा इन्द्र आङ्बो (मौसम)ले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् भने एमालेको समर्थनमा गठबन्धनबाटै कांग्रेसका केदार कार्कीले पनि मुख्यमन्त्रीमा विद्रोही उम्मेदवार बनेर दाबी पेश गरेका छन् । मुख्यमन्त्रीका लागि उम्मेदवार दावी गर्ने दुबै जनाको पक्षमा केही सांसदहरूको दोहोरो हस्ताक्षर प्रयोग भएको छ ।