आज कृष्ण जन्माष्टमी, पुजा आराधना गरेर जन्मदिन मनाइँदै

२० भदौ ०८०, काठमाडौँ । आज कृष्ण जन्माष्टमी, पुजा आराधना गरेर श्रीकृष्णको जन्मदिन मनाइँदै छ ।

द्वापर युगमा भारतको मथुरामा आजकै दिनमा पिता बासुदेव र माता देवकीको कोखबाट श्रीकृष्णको जन्म भएको शास्त्रमा उल्लेख छ ।

हिन्दु धर्मावलम्बीहरुले श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापक भगवान रुपमा पुज्दछन् ।

बाल्यकालमा श्रीकृष्णको बाल सुलभता, गोपिनीसँगको प्रेम र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई संस्मरण गर्दै श्रीकृष्णको पूजा– आराधना गरिन्छ ।

मुख्यतः आश्विन शुक्ल अष्टमीलाई कालरात्रि, कात्तिक कृष्ण औँसीलाई सुखरात्रि, फागुन कृष्ण तृतीयालाई महाशिवरात्रि र यो भदौ कृष्ण अष्टमीलाई मोहरात्रिका रुपमा शास्त्रमा वर्णन गरिएको पाइन्छ ।

पाटनको कृष्ण मन्दिर लगायत देशभरका कृष्ण मन्दिरहरुमा श्रीकृष्णका भक्तजनहरुले कृष्णाष्टमी भव्यतापूर्वक मनाउँछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृष्णाष्टमी २०८० को सुखद् अवसरमा सामाजिक सञ्जालमार्फत् समस्त नेपालीहरूमा पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र एकतासहित सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा भनिएको छ, कृष्णाष्टमी २०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र एकतासहित सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।