माओवादी केन्द्र संसदीय दलको नेता बन्न बागमतीमा चारजनाको दावी

१ पुस ०७९, काठमाडौं । बागमती प्रदेशको संसदीय दलको नेता बन्न नेकपा (माओवादी केन्द्र)मा चारजनाले दावी गरेका छन् ।

सरकार निर्माण गर्न बागमतीमा निर्णायक रहेको माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्ने आकांक्षासहित दलको नेता बन्न दाबी गर्ने नेताहरु बढेका हुन ।

दलको नेता बन्न बागमती प्रदेशसभा सदस्य शालिकराम जमरकट्टेल, गंगानारायण श्रेष्ठ, युवराज दुलाल र सरल सहयात्रीले जोड गरेका छन् ।

बागमती प्रदेशमा ३७ सिटसहित नेपाली कांग्रेस पहिलो, २७ सिटसहित नेकपा एमाले दोस्रो र २१ सिटसहित माओवादी तेस्रो दल बनेको छ । यस प्रदेशमा कांग्रेस र एमाले मिलेको अवस्थामा बाहेक सरकार गठनका लागि माओवादीको साथ अनिवार्य देखिन्छ ।