गाँउगाँउमा सिंहदरबार, नाममा मात्र सीमित बन्यो – नरैनापुर गाँउपालिका अध्यक्ष शाह

इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना गर्न नरैनापुरको माग

बाँके । नरैनापुर गाउँपालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि गाँउपालिकाले अग्रसरता देखाएको छ ।

नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालकाअनुसार कार्यपालिकाको सोमबार बसेको बैठकले इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई लिखित निवेदन पेश गर्ने निर्णय गरेको हो ।

हाल सेवा प्रवाहमा सहज पहुँच नभएकाले संघीयताको मर्म र भावना अनुसार एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति अनुसार गाँउपालिका क्षेत्रभित्र रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाका लागि कार्यपालिकाबाटै निर्णय गरिएको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

‘नरैनापुर गाँउपालिकाबाट जिल्ला प्रशासन कार्यालय पुगेर सेवा लिन असहज छ,’ अध्यक्ष शाहले भने, ‘नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने संघीयताको मर्म र भावना अनुसार गाँउापालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय आवश्यक छ । इलाका प्रशासन, मालपोत र नापी कार्यालयका लागि चाहिने भवनको व्यवस्था गाँउपालिकाले गर्ने छ ।’

कार्यालय प्रमुखको व्यवस्था गरिदिन बारम्बार विभिन्न निकायमा आग्रह गर्दा पनि बेवास्ता भइरहेको अध्यक्ष शाहको गुनासो छ । ‘नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम जानुपर्ने बाध्यताको अझै अन्त्य भएन,’ उनले भने, ‘गाँउगाँउमा सिंहदरबार, नाममा मात्र सीमित बन्यो ।’