राजेन्द्र न्यौपाने/सम्वाददाता
११ कार्तिक ०७९, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो जीवनकालमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तै लागेको बताएका छन् ।
आज साँझ जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ९ स्थित आरुटारमा स्थानीयहरुसँग कुरा गर्दैै अध्यक्ष प्रचण्डले आफ्नै जीवनकालमा धेरै उतारचढाव भएको र धेरै नागरिकहरुका अधिकार स्थापित भएकाले फिल्म जस्तो लागेको बताएका हुन् ।
शिक्षणको क्रममा ४६ वर्ष पहिले आफू बसेकै स्थानमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै अध्यक्ष प्रचण्डले समकालीन समयका दर्जन बढी सहपाठीहरुको नाम समेत लिएका थिए ।
आफ्नो उम्मेदवारी गोरखाबाट हुँदा गोरखाका लागि फाइदा रहेको बताउँदै मध्यपहाडी लोकमार्ग, बुढीगण्डकी जलविद्युत परियोजना, बेनिघाट आरुघाट लार्के सडक निर्माणको काम समयमै सम्पन्न गरिने पनि उनले बताए ।
चुनावी भेटघाटको क्रममा गोरखा आइपुगेका पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड दुई दिनसम्म गोरखा रहने कार्यक्रम तय भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य लेख बहादुर थापा मगरले जानकारी दिए ।