एमसीसी जस्ताको तस्तै पास गर्न नसक्ने प्रचण्ड र नेपालको भनाई

२७ माघ ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी परियोजना जस्ताको तस्तै पास गर्न नसक्ने बताएका छन् ।

प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्ड र नेपालले एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्न नसकिने जानकारी गराएको स्रोतले बतायो ।

सत्ता गठबन्धन दलहरूबीच एमसीसीको विषयमा एकमत नभएपछि देउवा अलमलमा परेका छन् ।

नेपाली कांग्रेस र जसपा जतिसक्दो छिटो एमसीसी पास गर्नुपर्ने पक्षमा रहेका छन् भने माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा भने एमसीसी जस्ताको तस्तै पास नगर्ने पक्षमा छन् ।

यसअघि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।