मन्त्रिपरिषद् पुनर्गठनप्रति विपक्षी पाँच राजनीतिक दलकाे आपत्ति

२२ जेठ ०७८, काठमाडौं । विपक्षी पाँच राजनीतिक दलले कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनप्रति आपत्ति जनाएको छ ।

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको स्थितिमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेकाे भन्दै पाँच राजनीतिक दलले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको हाे ।

वक्तव्यमा संवैधानिक र लोकतान्त्रिक मूल्य, मान्यताको उपहास गरेको ठहर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल,  जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव  तथा राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।