एमालेको स्थायी कमिटी बैठकमा नेपाल-खनाल लगायतको कारवाही फिर्ताबारे छलफल

२३ बैशाख ०७८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल लगायतलाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल चलाएका छन् ।

बिहीबार बिहान अध्यक्ष ओलीले बोलाएको आकस्मिक स्थायी कमिटी बैठकमा माधवकुमार नेपालसहित चार जनालाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल भएको भन्दै बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ती नेताले कारबाही फिर्ताबारे थप छलफल गरेर निर्णय लिने भन्ने भएको बताउँदै अध्यक्ष ओलीले कारबाहीको विषयलाई बैठकको एजेण्डा बनाएको बताए ।

बैठकमा सहभागी नेताहरुले कारबाही गर्नु भन्दा सकारात्मक वातावरण बनाउनुपर्नेमा जोड दिएको ती नेताले बताए ।

एमाले अध्यक्ष ओलीले ७ चैतमा महाधिवेशन आयोजक कमिटीको बैठक राखेर पार्टीमा समानान्तर गतिविधि गरेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टीबाट निष्काशन गरिएको पत्र पठाएका थिए ।

एमालेका नेपाल–खनाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेर देशभर समानान्तर गतिविधि गरिरहेको छ ।