गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश

१३ बैशाख ०७७, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको छ ।

सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

गण्डकी कांग्रेस संसदीय दलका नेता नेपालीले गण्डकी प्रदेश सरकार संघीय सरकारझैँ असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव ल्याइएको बताए ।

अविश्वासको प्रस्ताव पेश गर्दै नेपालीले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई मुख्यमन्त्रीले पूर्ण समर्थन गर्दै प्रदेश सरकार जनताको भावनाविपरीत गएकाले अविश्वासको प्रस्ताव ल्याउनु परेको बताए ।

मुख्यमन्त्रीले बैशाख ६ गते प्रदेशसभाको बैठक बोलाइसकेको अवस्थामा बैशाख १ गते मध्यरातमा अधिवेशन अन्त्य गरेर प्रतिगमनकै सिको गरेको उनको आरोप थियो ।

मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले बैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रदेश प्रमुख शेरचनले विपक्षी दलको माग बमोजिम आजका लागि विशेष अधिवेशन बोलाएका थिए ।

प्रदेशसभामा मुख्यमन्त्री गुरुङको दल नेकपा एमालेका २७ सांसद छन् । यस्तै कांग्रेसको १५ र माओवादीको १२ सांसदमा १ जना सभामुख छन् । जनमोर्चाका ३, जसपाका २ र एक जना स्वतन्त्र सांसद दीपक मनाङे छन् ।