बक्यौता रकम भुक्तानी नभएपछि उखु किसानद्वारा आन्दोलन घोषणा

८ माघ ०७७, जनकपुरधाम । उखु किसान संघर्ष समितिले २१ दिनभित्र सरकारले उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरेपनि भुक्तानी नभएको भन्दै आन्दोलन घोषणा गरेको छ ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर उखु किसान संघर्ष समितिले आन्दोलन घोषणा गरेको हो ।

किसानको सम्पूर्ण रकम किसानकै खाता मार्फत भुक्तानी गरिसकेको विश्वसनीय प्रमाण विवरण तत्काल सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

किसानले माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने साथै त्यसपछि तेस्रो चरणको आन्दोलन घोषणा गर्ने संघर्ष समितिको विज्ञप्तिमा उल्लेख छ ।