संसद विघटनविरुद्ध सप्तरीमा नेकपाको विरोध प्रदर्शन

१४ पुस ०७७, सप्तरी । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंगलबार सप्तरी सदरमुकाम राजविराजमा विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्ने कदम चालेसँगै नेकपाले आज विरोध प्रदर्शन गरेको हो ।

नेकपाका नेताहरुले विरोध प्रदर्शन साथै शक्ति प्रदर्शन गरेर आन्दोलनबाटै सरकारलाई असंबैधानिक कदम फिर्ता लिन बाध्य पार्ने चेतवानी समेत दिएका छन् ।

प्रदर्शनकारीहरुले काम चलाउ सरकारका प्रधानमन्त्री केपी ओलीविरुद्ध चर्को नारावाजी गर्दै असंवैधानिक कदम खारेजको माग गरेका थिए ।

मदननगरस्थित पार्टी कार्यालयबाट निस्केको जुलुस बजार क्षेत्र परिक्रमा गरेको थियो भने बजार परिक्रमापछि विरोध सभामा परिणत भएको थियो ।

विरोध कार्यक्रमलाई नेकपाका प्रदेश सहइन्चार्ज महेन्द्र्र पासवान, जिल्ला इन्चार्ज रामप्रित पासवान, जिल्ला अध्यक्ष अशोककुमार मण्डल, प्रदेशसभा सदस्य गोबिन्द न्यौपाने, पूर्वमन्त्री दिनेश यादव, प्रदेश कमिटी सदस्य महेश यादव लगायतले सम्वोधन गरेका थिए ।

विरोध सभामा वक्ताहरुले प्रतिनिधिसभा विघटनलाई असंबैधानिक भन्दै सडकमा र त्यसविरुद्ध कानुनी साथै राजनीतिक लडाई सँगसँगै अघि बढाउने उद्घोष गरेका थिए ।