नेपाली युवा वैज्ञानिक किरणको अमेरिकामा सवारी दुर्घटनामा परेर निधन

१८ असार, अमेरिका ।

Kiran-Lamichane

एक नेपाली युवा वैज्ञानिकको अमेरिकामा सवारी दुर्घटनामा परेर निधन भएको छ ।

अमेरिकाको मिजौरी राज्यको कोलम्बिया शहरमा बस्दै आएका गोरखा जिल्लाका ३३ बर्षीय किरण लामिछानेको शुक्रबार सवारी दुर्घटनामा ज्यान गएको हो ।

अमेरिकामा ‘रिसर्च साइन्टिस्ट’ का रुपमा कार्यरत लामिछाने कार्यालयबाट साथीहरुसँग दिउँसोको खाना खाएर गाडी पार्किङ गरिएको स्थानमा निस्कँदै गर्दा कारले ठक्कर दिएपछि निधन भएको  हो । टेक्ससबाट सञ्चालित हिमालय खबरका अनुसार, उनको शव पोष्टमार्टमको लागि स्थानीय हस्पिटलमा राखिएको छ ।

नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेका सहोदर भाइ ३३ बर्षीय स्व.किरण लामिछाने लामो समय टेक्सस बसेर अध्ययन गरेका थिए । लामिछाने केही महिना अघिमात्र रोजगारीको सिलसिलामा मिजौरी राज्य पुगेका थिए । उनले वातावरण विज्ञानमा पीएचडीसम्मको अध्ययन युनिभर्सिटी अफ नर्थ टेक्ससबाट पूरा गरेका थिए ।

नेपालमा छँदा लामिछानेले बिभिन्न कलेजहरुमा अध्यापनका साथै राष्ट्रिय योजना आयोगमा रहेर पनि काम गरेका थिए । उनका पत्नी र पाँच बर्षीय छोरा छन् ।

तपाइको मत