८ असोज ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को सक्रिय संक्रमित संख्या २५ हजार भन्दा बढी भए पुनः बन्दाबन्दी गरिनुपर्ने बताएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को बैठकले गरेको निर्णय बारे जानकारी दिँदै कोरोना सक्रिय संक्रमित संख्या २५ हजार भन्दा बढी भए पुनः बन्दाबन्दी गर्न सिफारिस गरिएको जानकारी दिएका हुन् ।
उनले जनस्वास्थ्यको मापदण्ड पालना हुन नसक्ने प्रकृतिका सबै सेवा तथा व्यवसाय कम्तीमा एक महिना नखोल्न सिफारिस गर्ने निर्णय गरेको बताए ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो अद्यावधिक विवरणअनुसर नेपालभर बुधबारसम्म सक्रिय कोरोना संक्रमितको कूल संख्या १७ हजार ४१४ रहेको प्रवक्ता गौतमले बताएका छन् ।