२४ भदौ ०७७, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले संकटकाल घोषणा भएको अवस्थामा मात्रै नेपाली सेना परिचालन हुने बताएका छन् ।
बुधबार जंगीअड्डामा प्रधानसेनापति थापाले जिम्मेवारी सम्हालेको दुई वर्ष पूरा भई तीन वर्ष सुरुभएको अवसरमा विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा यस्तो बताएका हुन् ।
उनले भने, “नेपाली सेना इमर्जेन्सीमा मात्रै परिचालन गरिनु पर्दछ, अन्य अवस्थामा सहयोगी भूमिकामा बस्नुपर्छ भन्ने नेपाली सेनाको धारणा हो ।”
यस्तै नेपाली सेनाले नागरिक सर्वोच्चतालाई कदर गर्दै आएको र सरकारको आदेश पालना गर्नु सेनाको दायित्व भएको उनले बताए ।
यसैगरी रक्षा मन्त्रालय र जंगी अड्डाबीच स्वास्थ्य सामग्री खरीदको विषयलाई लिएर कुनै द्विविधा नरहेको भन्दै प्रधानसेनापति थापाले स्वास्थ्य सामग्री खरीद स्वास्थ्य मन्त्रालयको आदेशअनुसार गरिएको बताए ।
उनले अहोरात्र खटिने जर्नेलहरु र मन्त्रालयका कर्मचारीको कामलाई अवमूल्यन, निरुत्साहित गर्न नहुने समेत बताए ।
प्रधानसेनापति थापाले अन्तरक्रियामा आफूले दुई वर्षमा गरेका कामहरुको विवरण समेत सुनाएका थिए । साथै, आफ्नो देशको रक्षा गर्न सेना सक्षम रहेको बताउँदै उनले भने, “अंग्रेजसँग पनि हामी लडेकै हौं ।”