थप ८९९ जनामा कोरोना पुष्टि, कूल ३९ हजार ४६०
१५ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थप ८९९ जनामा कोरोना पुष्टि भएको बताएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले ३ सय ३ जना महिला र ५ सय ९६ पुरुषलाई कोरोना भाइरस पुष्टि भएको र योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगको बताए ।
उनले हाल सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको बताए । साथै, पछिल्लो चौबीस घण्टामा ५ सय ८८ जना संक्रमित भई घर फर्किएको र निको हुनेको कूल संख्या २१ हजार ४ सय १० पुगेको जानकारी दिए ।
गएको चौबीस घण्टामा एक बालिकासहित ३ महिला र ४ जना पुरुष संक्रमितको निधन
यस्तै प्रवक्ता गौतमले गएको चौबीस घण्टामा एक बालिकासहित ३ महिला र ४ जना पुरुष गरी ७ जना कोरोना संक्रमितको निधन भएको बताए ।
मृत्यु हुनेहरुमा महोत्तरीमा ४ वर्षीया बालिका, गोर्खामा ६५ वर्षीया महिला, रुपन्देहीमा ६८ वर्षीया महिला रहेको उनले बताए ।
यसैगरी झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुषको मृत्यु भएको बताए ।
योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको कूल संख्या २२८ पुगेको छ ।