५ भदौ ०७७, काठमाडौं । महिला नेतृहरुले हरितालिका तीज पर्वलाई महिला हिंसा अन्त्य गर्ने, प्राप्त उपलब्धिको रक्षा र विकास गर्दै थप अधिकारका लागि संघर्षकै रुपमा मनाउनु पर्नेमा जोड दिएका छन् ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिलाहरुलाई शुभकामना व्यक्त गरेकी छन् ।
शुक्रबार हरितालिका तीजको अवसरमा सभापति घर्तीले कोभिड–१९ का कारण एकैठाउँमा भेला वा जम्मा हुने कुनै पनि कार्यक्रम नगरी घरमै सुरक्षित रुपमा परिवार बिचमै बसेर तीज पर्व मनाउन आग्रह गरेकी हुन् ।
![](http://www.hakahaki.com/wp-content/uploads/2020/06/jayapuri-gharti.jpg)
जयपुरी घर्ती – सदस्य, प्रतिनिधि सभा
सत्तारुढ दल निकट अखिल नेपाल ट्रेड युनियन महासंघका फ्र्याक्सन इन्चार्ज समेत रहेकी सांसद घर्तीले भनिन्, ‘तीज पर्व विगतमा जस्तो तडकभडक गर्ने, रुढीवादी परम्परा र प्रचलन हट्दै गइरहेको भए पनि पछिल्लो समय फेरि केही भड्किलो हुँदै जान लागको देखिन्छ । समाजमा व्याप्त रहेका महिला हिंसा, विकृति, विसङ्गति र कुरीति हटाउन साथै अधिकार प्राप्तिका लागि संघर्षकै रुपमा यस पर्वलाई मनाउनु पर्दछ ।’
यस्तै तीजका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष उषा देवकोटाले ठूलो संघर्ष र बलिदनीबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्दै महिलाका हकहित र समाज रुपान्तरण गर्न शिक्षा लिने–दिने पर्वका रुपमा तीज मनाउनु पर्ने बताएकी छन् ।
![](http://www.hakahaki.com/wp-content/uploads/2020/05/5-Usha-Devkota.jpg)
उषा देवकोटा – उपाध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघ
उपाध्यक्ष देवकोटाले कहिलेकाहीँ भोजन नलिनु स्वाथ्यका श्रेयकर नै भए पनि निराहार व्रत बसेर आफ्नो शरीरलाई नै अस्वस्थ बनाउन नहुने बताइन् ।
यसैगरी बागमती प्रदेश सांसद लालकुमारी पुन ‘सुशीला’ले नेपाली महिलाहरूको पर्व तीजले सम्पूर्ण दिदिबहिनीहरुमा सुख, शान्ति एवं आपसी एकता, पारिवारिक सद्भाव कायम गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।
![](http://www.hakahaki.com/wp-content/uploads/2020/08/sushila-1.jpg)
लालकुमारी पुन ‘सुशीला’ – सांसद, बागमती प्रदेश
तीज पर्वलाई सामाजिक विभेद र कुरीति अन्त्य गर्ने पर्वका रुपमा मनाउनु पर्ने बताउँदै सांसद सुशीलाले भनेकी छन्, ‘यस वर्ष कोरोनाका कारण सरकारले जारी गरेको निषेधाज्ञा पालना गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आफू पनि बचौं र अरुलाई पनि बचाऔं, तीज पर्वको शुभकामना ।’
यसैगरी अखिल नेपाल स्वास्थ्य श्रमिक संघकी अध्यक्ष गीता खरेल ‘निशा’ले तीज पर्व हिन्दु नारीहरुले मनाउने महत्वपूर्ण चाड भएको बताएकी छन् ।
अध्यक्ष खरेलले वर्षको एकदिन भए पनि नारीहरुले हर्षोल्लासका साथ स्वतन्त्रता र आनन्दपूर्वक मनाउने तीज पर्वलाई कोरोना महामारीका कारण यसवर्ष जमघट हुने, साथीसंगीसँग भेटघाट गर्ने भन्दा पनि घरपरिवारमै बसेर मनाउन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरुमा हरितालिका तीजको शुभकामना भनेकी छन् ।
![](http://www.hakahaki.com/wp-content/uploads/2020/05/34-Gita-Kharel.jpg)
गीता खरेल ‘निशा’ – अध्यक्ष, अखिल नेपाल स्वास्थ्य श्रमिक संघ
विगतका तीज पर्वको स्मरण गर्दै उनले भनिन्, ‘यसअघिका वर्षहरुमा तीज पर्व संगठनको भेला, सम्मेलन तथा कार्यक्रमहरु गरेर मनाउँदै आइरहेका थियौं, यसवर्ष त्यस्तो कार्यक्रम नभए पनि कोरोबाट बच्न आफू पनि सुरक्षित रहने र अरुलाई सुरक्षित रहन उत्प्रेरित गर्ने सन्देश साटासाट गरेर तीज पर्व मनाउँदै छौं ।’
उनले निराहार व्रत बसेर, भोकभोकै रहेर तीज पर्व मनाउनुभन्दा पनि आफ्नो स्वास्थ्यको विशेष ख्याल गरेर सन्देशमूलक गीतहरुबाटै आफ्ना पीडा बेदनाहरु आदानप्रदान गरेर साथै आधुनिकताका नाममा बढिरहेको उछृङ्खलाता निरुत्सािहत गर्दै हरितालिका तीज मनाउन आग्रह गरेकी छन् ।