सप्तरीमा प्रहरी र स्थानीयको हस्तक्षेपपछि रोकियो बालविवाह

३१ साउन ०७७, सप्तरी । जिल्लाको शम्भुनाथ मन्दिरमा हुन लागेको बालविवाह स्थानीय समाज र प्रहरीको संयुक्त प्रयासमा रोकिएको छ ।

जिल्लाको अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ का लड्डु दासकी १५ वर्षीया छोरी निर्मलाको विवाह शुक्रबार रोकिएको हो ।

निर्मलाको विवाह सप्तरीकै विष्णुपुर गाउँपालिका वडा नं. ६ रन्जितपुरका ३२ वर्षीय बिन्देश्वर दाससँग हुन लागेको थियो ।

प्रहरी उपरीक्षक कृष्ण प्रसाईको निर्देशनमा प्रहरी चौकी डिमनबाट हवल्दार महेश प्रसाद बैठाको नेतृत्वमा बालिकाको घर पुगेका एक प्रहरीको टोलीले बालविवाह रोकिदिएको हो ।

प्रहरी र नागरिक अगुवाले बेहुलीका आमाबुबालाई उमेर नपुगी छोरीको बिवाह गर्न पाइन्नँ भन्ने कानुनी व्यवस्था बारे सम्झाएपछि उनीहरु विवाह रोक्न राजी भएका थिए ।

आर्थिक अवस्था निकै कमजोर रहेका निर्मलाका आमाबुबाले आफूहरुसँग दाइजो दिने रकम नभएको र दाइजो बिना नै आर्थिक रुपमा सम्पन्न परिवारका केटा पाएकाले छोरीको उमेर ख्यालै नगरी बिवाह गरिदिन लागेको सुनाएका थिए ।

उता शम्भुनाथ मन्दिरमा बेहुला बिन्देश्वर बिवाह मण्डप (मडवा) मा बेहुली आउने प्रतिक्षामा बसिरहेका थिए । तर, चालकले सबै काहानी सुनाएपछि त्यही गाडी चढेर बेहुला र परिवार हतार हतार घर फर्केका छन् ।

प्रहरीका अनुसार मण्डपमा आफूहरु पुग्नु अगावै बेहुला र उनका परिवार मन्दिरबाट भागेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी तिलक भारतीले आफूहरुलाई बालविवाह बारे जानकारी आए लगत्तै त्यसलाई रोक्न प्रहरी परिचालन गरिएको बताए ।

“ऐन कानुन विरुद्ध हुने बिवाह वा कुनै पनि काम रोक्नु हाम्रो कर्तब्य हो, उनले भने, “त्यही कानुनको पालन गराउन उक्त बिवाहमा हस्तक्षेप गरिएको हो ।”

सप्तरीमा ६ महिनायता तीनवटा बालविवाह अभियन्ता र प्रहरीको संयुक्त प्रयासबाट रोकिएको छ ।