सप्तरी मालपोतका ठाकुरविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर

१६ साउन ०७७, सप्तरी । भूमिसुधार तथा मालपोत कार्यालय, सप्तरीका नायव सुब्वा कृष्ण बल्लभ ठाकुरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको छ ।

घुस लिएको आरोपमा पक्राउ परेका ठाकुरले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक रकमको बार्गेनिङ गरी सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले आरोप–पत्र दायर गरेको हो ।

अख्तियारले नायव सुब्वा ठाकुरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर र अपराध गरेको देखिँदा बिगो १३ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गर्न माग गरेको छ ।

ट्रायल चेक गरी बढी जग्गाको श्रेष्ता कायम गरी दिने भन्दै सेवाग्राहीसँग १३ हजार घुस लिएको सेवाग्राहीको सूचना र उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले असार ३० गते ठाकुरलाई पक्राउ गरेको थियो ।