८ साउन ०७७, काठमाडौं । सत्तारुढ दल निकट अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाले हिमाल मिडियाका व्यवस्थापनलाई कर्मचारी निश्कासन नगर्न र श्रमिकका माग तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् ।
बिहीबार अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय कार्यालयमा पुगेका हिमाल मिडियामा कार्यरत पीडित कर्मचारीहरुले आफूहरुमाथि अन्याय भएको बताएपछि अध्यक्ष सिम्खडाले यस्तो बताएका हुन् ।
बागमती प्रदेश सांसद समेत रहेका महासंघका अध्यक्ष सिम्खडाले हिमाल मिडियाको नयाँ व्यवस्थापनले गत असार ३० गते बैठक बोलाएर नन–इडिटोरियल कर्मचारीलाई निश्कासन गर्ने पूर्वसूचना दिइसकेकाले व्यवस्थापनलाई उक्त निर्णय सच्याउन आग्रह गर्दै अन्यथा श्रमिकहरु आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।
उनले हिमाल मिडियामा कार्यरत पीडित कर्मचारीहरुका आन्दोलन र मागहरु कार्यान्वयन गर्ने सवालमा महासंघको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै व्यवस्थापनलाई श्रम कटौती गरेता पनि श्रमिकको रोजगारी कटौती नगर्न सुझाएका छन् ।
‘पहिले आठ घण्टा काम हुन्थ्यो भने चार घण्टा आलोपालो गरेर लगाउनु पर्दछ र सोही अनुसार पारिश्रमिक व्यवस्था गर्नुपर्दछ,’ उनले भने, ‘श्रम समय कटौती होस् तर रोजगारीबाट एकजना श्रमिक पनि निश्कासन गर्ने कार्य नहोस् ।’
हिमाल मिडियाको पीडित कर्मचारीहरुसँगको समस्या समाधानका विषयमा भएका सो छलफलमा अन्टुफ उपाध्यक्ष त्रय जय कार्की, धनबहादुर विक, एसबी थापा साथै उपमहासचिव प्रकाश श्रेष्ठको उपस्थिति रहेको थियो ।
यही साउन १ गते हिमाल मिडियामा कार्यरत २१ जना कर्मचारीले व्यवस्थापनलाई ८ बुँदे मागपत्र बुझाएका थिए ।