६ असार ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
सचिवालय बैठक अमेरिकी सहयोग परियोजना एमसीसी, मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)मा केन्द्रित हुने बताइएको छ ।
नेकपाको ०७६ माघमा बसेको केन्द्रीय समिति बैठकद्वारा गठित एमसीसी अध्ययन कार्यदलले सम्झौतालाई जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको थियो ।
त्यसयता पार्टीमा विकसित पछिल्ला घटनाक्रमका सन्दर्भमा स्थायी कमिटी बैठक आह्वान गरिए पनि अन्तिम समयमा स्थगित हुँदै आएको थियो ।
प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसी पारित गर्ने पक्षमा रहेको देखिन्छ । उनले असार ४ मा राष्ट्रियसभा बैठकमा समेत एमसीसी परियोजनासँगै अमेरिकी सेना पनि नेपाल आउने भनेर गलत हल्ला फिँजाइएको र नपढेकाहरुले एमसीसी विरोधी अभिव्यक्ति दिएको साथै विकास हुने चिन्ताले विरोध गरिएको त होइन् भनेर प्रश्नसमेत उठाएका थिए ।
नेकपाको एक केन्द्रीय सदस्यले प्रधानमन्त्रीको भनाईको खण्डन गर्दै एमसीसीबारेमा बरु प्रधानमन्त्रीले के कति अध्ययन गरेका छन् त्यो जनतालाई बताइदिए हुनेथियो भन्दै राष्ट्रघाती एमसीसीविरुद्ध पार्टीभित्र बहुमत सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य रहेकाले नै प्रधानमन्त्रीले पेलेर लैजान नसकेको दाबी गरे ।