पहिरोले पुरिएर ८ को मृत्यु, १ जना अझै बेपत्ता
३२ जेठ ०७७, पर्वत । जिल्लाको कुस्मा नगरपालिका–३ दुर्लुङ ढकालवारी काउलेमा गएराति आएको पहिरोले पुरिँदा ८ जनाको मृत्यु र १ जना बेपत्ता भएका छन् ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीका स्वकीय सचिव खुम बहादुर ‘राजु’ले शनिबार राति करिब ८ बजे आएको वर्षासहितको पहिरोमा परेर दुई परिवारका ८ जनाको मृत्यु भएको र १ जना अझै बेपत्ता रहेको जानकारी दिए ।
“मन्त्रीज्यूले पहिरो गएको करिब आधा घण्टा नहुँदै दुई घर पुरिएको भन्ने जानकारी पाउनासाथ उद्दार कार्यका सशस्त्र र जनपथ प्रहरीलाई घटनास्थल पठाउनु भयो,” स्वकीय सचिव राजुले भने, “आइतबार दिउँसो घटस्थालमै पुगेर उहाँले पीडित परिवारलाई समवेदनासहित प्रदेश सरकारको तर्फबाट जनही ५० हजार रुपैयाँका दरले राहत रकम हस्तान्तरण गर्नुभयो ।”
पहिरोमा पुरिएर दुई परिवारका ८ जनाको निधन, १ जना बेपत्ता भएपछि गाउँ नै शोकमा डुबेको छ भन्दै स्वकीय सचिव राजुले नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीले बेपत्ताको खोजी कार्य जारी राखेको बताए ।
सो पहिरोबाट ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापा, नातिनी ८ वर्षीया बिबिसा र नाति १४ वर्षीय सम्राट थापा, तुलबहादुरकी विवाहित छोरी ३४ वर्षीया दीपा थापा र दीपाका छोरा १७ वर्षीय विवेक थापाको मृत्यु भएको छ ।
यसैगरी विकास विककी श्रीमती ३२ वर्षीया कमला विक, छोरी ८ वर्षीया प्रमिशा विक र १३ वर्षीय जेनिस विकलाई पहिरोले पुरेको थियो । आइतबार साँझसम्म जेनिस बेपत्ता नै रहेका छन् । उनको खोजी कार्य जारी छ ।
तुलबहादुरका छोरा–बुहारी अम्मर थापा र रिमाया थापा घरदेखि केहीपर पसल सञ्चालन गर्दै आएकाले ज्यान जोगिएको छ ।
यस्तै कमला विकका श्रीमान् विकास विक रोजगारीको सिलसिलामा साउदीमा छन् भने तुलबहादुरी छोरी दीपाको श्रीमान पनि साउदीमै छन् ।
आजै जिल्ला दैवीप्रकोप उद्दार समितिले पनि पहिरो पीडित परिवारलाई १ लाख रुपैयाँका दरले राहत रकम प्रदान गरेको छ ।
पीडितका आफन्तलाई समवेदना दिन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, संघीय सांसद पदम गिरी, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल पनि घटनास्थल पुगेका थिए ।