१४ जेठ ०७७, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ मा भएको घटना छानबिनका लागि समिति गठन गरेको जानकारी दिएका छन् ।
जातीय विभेदका आधारमा सामूहिक युवा हत्या भएको भन्दै विरोध भइरहेका बेला गृहमन्त्री बादलले मङ्गलबार प्रतिनिधिसभाको बैठकमा उक्त घटनाबारे पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन् ।
“राज्यको तर्फबाट हामीले छानबिन समिति बनाइसकेका छौं, यसले निष्पक्ष छानबिन गर्नेछ । दुईहप्तभित्र छानबिन गरेर प्रतिवेदन पेश गर्ने निर्देशन दिइसकेका छौं” गृहमन्त्रीले भने ।
सदनमा सांसदहरूले घटनाबारे सरकारको जवाफ माग गरेपछि मन्त्री थापाले घटनाका दोषीलाई कानुन बमोजिम कारबाही हुने बताउँदै भने, ‘‘जुन दुःखद् घटना भएको छ, सिङ्गो राष्ट्रलाई स्तब्ध तुल्याएको छ । दोषीलाई कानुनी कठघरामा ल्याउन र कानुनबमोजिम कारबाहीका लागि सरकार प्रतिबद्ध छ ।’’
छानबिन समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, महान्यायाधिवक्ता तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र गृहकै उपसचिव सदस्य रहेको भन्दै गृहमन्त्री थापाले संसदलाई घटनामा तीनजनाको मृत्यु भएको र अन्य तीन जना बेपत्ता रहेको बताए ।
गृहमन्त्री सो घटनामा नवराज विक, गणेश बुढा र टीकाराम नेपालीको शव भेरी नदी किनारमा फेला परेको थियो । यस्तै घटनामा संलग्न रहेको आशंकामा १२ जनालाई नियन्त्रणमा लिइएको र दुबै जिल्लाको समन्वयमा घटनाबारे अनुसन्धान भइरहेको बताए ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले जेठ १० गते जाजरकोटबाट रुकुम पश्चिममा आफ्नी प्रेमिका लिन पुगेका युवाहरुलाई जाजरकोट चौरजहारीका स्थानीयले आक्रमण गरेको र घटनामा वडाध्यक्षसमेतको संलग्नता रहेको आरोप लगाएका थिए ।