३ जेठ ०७७, काठमाडौं । कुनै मुलुकको इशारामा नेपालले लिपुलेकको विषय उचालेको भनेर भारतीय सेना प्रमुख मनोज नरवणेले दिएको विवादास्पद अभिव्यक्तिको नेपाली सेनाले उपयुक्त समयमा जवाफ दिने बताएका छन् ।
नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको भनेर शुक्रबार भारतका सेना प्रमुख नरवणेले मानसरोवर जाने बाटो लिपुलेकमा भारतीय भूमिमा नै खनेको दाबी गरेपछि नेपाली सेना उनको अभिव्यक्तिबारे जानकार रहेको भन्दै सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डले नेपाली सेनाको आधिकारिक धारणा प्रधानसेनापतिबाट उपयुक्त फोरममा व्यक्त हुने बताएका हुन् ।
सैनिक प्रवक्ता पाण्डेले भने, “हामी उहाँको अभिव्यक्तिबारे जानकार छौं, यस सम्बन्धमा प्रधानसेनापतिले उपयुक्त मञ्चमा आधिकारिक धारणा व्यक्त गर्नु हुनेछ ।”
भारतले नेपाली भूमि अतिक्रमण गरेर दार्चुलामा सडक निर्माण गरेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ ।
स्मरणीय यो छ कि, भारतीय सेना र नेपाली सेनाबीच दुबै देशका सेनापति एकअर्का देशको मानार्थ महारथी हुने प्रचलन छ ।
भारतीय सेना प्रमुख नरभाने डिसेम्बर ३१ मा भारतको सेनाअध्यक्ष नियुक्त भएपछि अहिलेसम्म नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह लगाएका छैनन् तर नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा प्रधानसेनापतिले भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गरिसकेका छन् ।