२१ बैशाख ०७७, काठमाडौं । यस वर्षको मे डे अर्थात् १३१औं अन्तर्राष्ट्रिय श्रमिक दिवस कतै सार्वजनिक विरोध, कतै राहतको खडेरीका बीच सम्पन्न भएको छ ।
कोरोना भाइरसको उच्चजोखिमका बीच केही देशमा श्रमिकहरुले दुरी कायम राखेर सार्वजनिक स्थलमै विरोध कार्यक्रम गरेर समेत मई दिवस मनाइरहेको खबर सार्वजनिक भइरहँदा नेपालका मजदुरहरुले भने रेडियो, टेलिभिजन, अनलाइन, पत्रपत्रिका साथै सामाजिक सञ्जालहरुमार्फत् शुभकामना आदानप्रदान गरी मनाएका हुन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष उषा देवकोटाले मई दिवसका अवसरमा महासंघले शुभकामना वक्तव्यमार्फत् देशविदेशमा रहेका आमश्रमजीवी मजदुरहरुलाई शुभकामना दिएको बताइन् । र, आफूले आम श्रमिकहरुलाई अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र भौतिक दुरी कायम राखेर कोरोनाविरुद्ध लड्न साथै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा सरकार र रोजगारदाता इमान्दार बन्नु पर्ने शुभकामना व्यक्त गरेको जानकारी दिइन् ।
यस्तै अन्टुफ उपमहासचिव प्रकाश श्रेष्ठले मई दिवसका अवसरमा कोरोना संकटलाई देखाएर रोजगारदाताहरुले मजदुरहरुको तलब, भत्ता सुविधा कटौती गर्न नहुने भन्दै र वास्तविक पीडित श्रमिकहरुलाई राहत दिनुपर्ने जोड दिएका थिए । साथै, सरकार र रोजगारदाताहरुलाई मजदुरहरु कटौती नगर्न र काममा लगाइएका मजदुरलाई अतिरिक्त भत्ता, विमासहित अत्यावश्यक सुरक्षा सामग्री उपलब्ध गराउनु पर्नेमा भन्दै श्रेष्ठले सरकार र रोजगारदाताले ट्रेड युनियनहरुसँग समन्वय नगरेकाले मजदुरहरु समस्यामा परेको बताए ।
यस्तै अन्टुफ सचिव एवम् यातायात परिषद इन्चार्ज सोम तामाङले मई दिवसकै सन्दर्भमा सरकार र रोजगारदाता इमानदार नभएकाले लकडाउनमा वास्तविक मजदुरहरु भोकभोकै गन्तव्यतर्फ लाग्नु परेको साथै दैनिक ज्यालादारी श्रमिकको दैनिकीमा राहतको खडेरीले दुःख पाएको बताए ।
उनले स्थानीय तहमार्फत् वितरित राहतमा केही स्थानीय तह र वडाका जनप्रतिनिधिहरुको बेइमानीले गर्दा वास्तविक मजदुरहरुले राहत पाउन नसकेको र पाएको राहत पनि सडेको हुनु अपराधको पराकाष्ठ भएको बताए । भने, राहत वितरण गर्दा नागरिकता र मतदाता परिचय पत्रलाई आधार बनाइनु नहुनेमा जोड दिएका थिए । साथै, मई दिवसलाई अन्टुफले उत्सवभन्दा पनि आन्दोलनकै रुपमा लिएको उनले बताए ।
यस्तै अन्टुफ सचिव एवम् बागमती प्रदेश सांसद लालकुमारी पुन ‘सुशीला’, कोषाध्यक्ष घनश्याम ठकुरी, निर्माण मजदुरका अध्यक्ष अमित लामा, अखिल नेपाल कृषि मजदुर संघका अध्यक्ष मुक्ति दास लगायतले विभिन्न माध्यमबाट शुभकामना व्यक्त गरी १३१औं मई दिवस मनाइएको बताए ।