नेकपाको केन्द्रीय समिति बैठक आजबाट सुरू

१५ माघ ०७६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक आजबाट सुरूभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच २०७५ जेठ ३ मा पार्टी एकता घोषणासँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपनि केन्द्रीय समितिको औपचारिक बैठक बस्न सकेको थिएन ।

पार्टी एकता घोषणापछि २१ महिनाको अवधिमा ४४१ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक सपथ ग्रहणमा सीमित भएपनि बुधबारबाट सुरुभएको दोस्रो बैठक भने एजेण्डामा प्रवेश गरेको छ ।

नेकपाको मंगलबार बसेको सचिवालय बैठकले ७ एजेण्डासहित विभिन्न ९ बुँदे कार्यविधि तय गरेको र ती ९ बुँदे कार्यविधिका आधारमा ६ दिनसम्म केन्द्रीय कमिटी बैठक चल्ने बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सहिदहरुप्रति श्रद्धाञ्जली, अध्यक्ष केपी ओलीले बैठकको उद्घाटन र मन्तव्य राख्ने, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने, महासचिव विष्णु पौडेलले साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने तथा सातवटै प्रदेशका अध्यक्षहरुले सांगठनिक रिर्पोट प्रस्तुत गर्ने एजेण्डा तय भएका छन् ।

नेकपा सचिवालयले उपाध्यक्षमा प्रस्ताव गरेका नेता बामदेव गौतमलाई यही बैठकले विधान संशोधन गरी उपाध्यक्ष बनाउने साथै गतपुसमा सम्पन्न स्थायी कमिटी बैठक तथा विभिन्न समयमा पार्टी सचिवालयले लिएका निर्णयहरु पनि अनमुमोदन गर्ने बताइएको छ ।

यसअघि अध्यक्षका तर्फबाट पेश भएको प्रतिवेदनमा एमसीसी, सरकारका काम कारवाही तथा पार्टीमा बढेको अराजकताको विषय समावेश थियो ।

पाँच दिनसम्म चल्ने बैठकका लागि वर्णानुक्रमअनुसार १५ वटा समूह बनाइने र प्रस्तावहरुमाथि माघ १६ गते मात्र समूहगत रुपमा छलफल चलाइने नेकपाले जनाएको छ । त्यसैगरी माघ १७ र १८ गते समूहका नेताहरुले आ–आफ्नो समूहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्नुपर्नेछ । त्यसो गर्दा केन्द्रीय निकायका अध्यक्षहरुले १० मिनेटमा आफ्नो विचार राखिसक्नु पर्नेछ । प्रदेशका अध्यक्षहरुले आ–आफ्नो प्रदेशको रिपोर्ट बैठक समक्ष पेश गर्नेछन् । समूहगत रुपमा छलफलमा उठेका विषयहरुलाई माघ १९ गते निष्कर्षसहित प्रस्तुत गर्ने र दस्तावेजहरु पारित गर्ने कार्यविधिमा उल्लेख छ ।

बैठक हरेक दिन बिहान ११ बजे सुरु भएर ५ बजे सकिने जनाइएको छ । तर माघ १७ गतेको बैठक भने दिउँसो १ बजेमात्रै सुरु बताइएको छ ।
लामो समय बस्न नसकेको नेकपा केन्द्रीय समितिको बैठकलाई नेता कार्यकर्ताहरूले महत्वका साथ हेरेका छन् ।