श्रमिक दिवसमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको शुभकामना !
१९ बैशाख ०७६, काठमाडौं । मई १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । १३०औँ श्रमिक दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले शुभकामना सन्देश दिएका छन् ।
राष्ट्रपति भण्डारीले सरकारले लिएको सामाजिक न्याय र समानतामा आधारित समृद्ध नेपालको साझा सङ्कल्प सार्थक तुल्याउन श्रम क्षेत्रको सुधारका दिशामा सरोकारवाला पक्षहरू केन्द्रीत हुनेमा विश्वास व्यक्त गरेकी छन् ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमिकलाई उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको भन्दै देशको मुख्य सामाजिक आर्थिक शक्तिका रुपमा रहेको श्रमशक्तिलाई दक्ष र व्यवसायिक बनाउन र स्वदेशमै रोजगारी अभिबृद्धि गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर श्रृजना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मई दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी एवं दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
त्यस्तै नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देश जारी गर्दै देश विदेशमा रहेका सम्पूर्ण श्रमजीवी जनसमुदायमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
सातै प्रदेशमा अन्टुफको मई दिवस : कहीँ एकल, कहीँ संयुक्त कार्यक्रम (एक रिर्पोट/तस्बिरसहित)
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)ले सातै प्रदेशमा कहीँ एकल कहीँ संयुक्त कार्यक्रम गरी १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ ।
प्रदेश नं. १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस
बिर्तामोड । झापाको बिर्तामोडमा कांग्रेस, पूर्वमाओवादी केन्द्र र पूर्वएमाले निकट क्रियाशील तीन संगठन (ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन महासंघ)ले संयुक्त कार्यक्रम गरी १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह के.सी.को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न उक्त कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ उपमहासचिव भुपाल सापकोटा, अखिल नेपाल चिया मजदुर संघका सिता सापकोटा लगायतको सहभागिता रहेको थियो ।
उदयपुर । यसैगरी उदयपुरमा अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन महासंघले संयुक्त कार्यक्रम गरी १३० औ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ ।
बुधबार गाइघाट बजार पिपलचोकमा अन्टुफ–जिफन्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उदयपुर जिल्ला सचिव ईश्वर राउतको प्रमुख आतिथ्य साथै अन्टुफका १ नं.प्रदेश उपाध्यक्ष पदम दाहाल र जिफन्टका केन्द्रीय आर्थिक संयोजक त्रिबिक्रम ज्ञवालीको आतिथ्यमा मई दिवस मनाएको हो ।
जिफन्टका सकुन्तला चौधरीको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको सञ्चालन अन्टुफका चक्र कार्कीले गरेका थिए ।
मोरङ । यसैगरी मोरङको बिराटनगरमा अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन महासंघले संयुक्त कार्यक्रम गरी १३० औ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ ।
प्रदेश नं १ का समाजिक विकासमन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यता साथै प्रदेश सांसद एवम् अन्टुफका महासचिव जगत सिंखडाको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
भोजपुर । १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल निर्माण मजदुर संघ भोजपुर जिल्ला प्रथम भेला सम्पन्न भएको छ । जिल्ला महासंघ भोजपुरका अध्यक्ष जगत तामाङका अनुसार भवकृष्ण तामाङको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरिएको छ ।
प्रदेश नं. २ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस
राजविराज । सप्तरीको राजविराजमा अखिल नेपाल ट्रेड युनियन महासंघले एकल कार्यक्रम गरी १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । प्रदेशसभा सांसद समेत रहेका महासंघका महासचिव जगत सिंखडाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
बर्दिबास । यसैगरी महोत्तरीको बर्दिबासमा अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन महासंघले संयुक्त कार्यक्रम गरी १३० औ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ ।
उक्त कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलको प्रमुख आतिथ्य साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य प्रकाश पोखरेल, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एसबी थापा मगरको विशेष आतिथ्यमा सम्पन्न भएको हो ।
अन्टुफका केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला इन्चार्ज मुरारी प्रसाद दुलालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा स्वागत मन्तब्य नेपाल ट्रेड युनियन महासंघ २ नं. प्रदेश सदस्य तथा क्युपेक नेपाल महोत्तरीका जिल्ला सचिव नोरमणि पोखरेलले राखेका थिए भने सञ्चालन क्युपेक महोत्तरीका जिल्ला सदस्य मिन रहपालले गरेका थिए ।
सिमरा । यसैगरी बाराको सिमरामा अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन महासंघले संयुक्त कार्यक्रम गरी १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ ।
उक्त कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको प्रमुख आतिथ्य, अन्टुफ केन्द्रीय उपाध्यक्ष सोनालाल साह साथै जिफन्टका उपाध्यक्ष मन्जु थापा लगायतको आतिथ्यमा सम्पन्न भएको हो ।
प्रदेश नं. ३ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस
काठमाडौं । नेपालमा क्रियाशील ठूला ट्रेड युनियनहरूले काठमाडौंको भृकुटीमण्डपमा ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)को व्यानरमा संयुक्त कार्यक्रमको आयोजना गरी १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ ।
उक्त कार्यक्रमलाई प्रमुख आतिथि नेपाल कयुनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । त्यस्तै नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मई दिवसको महत्वमाथि प्रकाश पार्दै अन्तर्राष्ट्रिय दिवसको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस र मधेश केन्द्रीत दलका नेताहरूले समेत मई दिवसको शुभकामना व्यक्त गरेका थिए ।
हेटौडा । यसैगरी मकवानपुर जिल्लाको हेटौडामा अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन महासंघले संयुक्त कार्यक्रम गरी १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ ।
तीन नम्बर प्रदेश सभामुख सानु श्रेष्ठको प्रमुख आतिथ्य साथै जेटीयुसीसीका सल्लाहकार परिषद् संयोजक समेत रहेका महासंघका केन्द्रीय उपाध्यक्ष जय कार्की, जिफन्टका सचिव बेलीमाया घलेको आतिथ्य उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपाका प्रदेश र जिल्ला तहका नेताहरूको समेत उपस्थिति रहेको थियो ।
चितवन । अखिल नेपाल ट्रेड युनियन महासंघ, पेशागत महासंघ नेपाल (कोनेप) र नेपाल ट्रेड युनियन महासंघले चितवनमा संयुक्त कार्यक्रमको आयोजना गरी १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ ।
नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख अतिथ्य रहेको उक्त कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका उपमहासचिव शालिक काफ्लेले अन्तर्राष्ट्रिय श्रमिक दिवसका बारेका चर्चा गरेका थिए । त्यस्तै जिफन्टका सचिव बेलिमाया घले, नेकपा जिल्ला पार्टी अध्यक्ष लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
नुवाकोट/रसुवा । यसैगरी नुवाकोट र रसुवाले संयुक्त कार्यक्रम गरी १३०औं मई दिवस मनाएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन महासंघले संयुक्त कार्यक्रम गरी १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको हो । अन्टुफ नुवाकोटका अध्यक्ष बेदनिधि मुडभरी र रसुवाका अध्यक्ष असिम लामिछानेले दुई जिल्लाको संयुक्त पहलमा मई दिवस भव्यताका साथ सम्पन्न भएको बताए ।
सिन्धुली । प्रदेश सभा सांसद राजन दाहालले अखिल नेपाल ट्रेड युनियन महासंघ सिन्धुलीले १३०औं मई दिवस मनाएको जानकारी दिए ।
गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय श्रमिक दिवस
कास्की । अखिल नेपाल ट्रेड युनियन महासंघ कास्कीले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । अन्टुफ उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज अर्जुन छन्त्यालकाअनुसार नेकपाका स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी ‘प्यासी’को प्रमुख आतिथ्यमा १३०औं मई दिवस मनाइएको हो ।
उक्त कार्यक्रममा नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेको विशेष अतिथ्य रहेको थियो । भने, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव बखान तमु, अन्टुफ प्रदेश इन्चार्ज अर्जुन छन्त्याल, अध्यक्ष रुद्र गौतम लगायतको आतिथ्य रहेको थियो ।
नवीन अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन गुणराज बाँस्तोलाले गरेका थिए भने स्वागत मन्तव्य भोजराज खत्रीले राखेका थिए । साथै, नेता छन्त्यालले स्याङ्जामा पनि महासंघले १३०औं मई दिवस मनाइएको जानकारी दिए ।
नवलपुर । प्रदेश नं. ४ को औद्योगिक क्षेत्र नवलपुरमा १३०औ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ ।
जिल्ला संयोजक कृष्ण भुर्तेलको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि धनप्रसाद सापकोटा, विशेष अतिथि चेतनाथ पोखरेल रहेका थिए । कार्यक्रमका वक्ताहरूले श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको कार्यान्वयन साथै बेतन लागू नगर्ने रोजगारदाताहरूलाई सरकारले कडा कार्वाही गर्नुपर्ने माग गरेका थिए ।
प्रदेश नं. ५ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस
नेपालगञ्ज । नेपाल सरकार ५ नम्बर प्रदेश सामाजिक विकास मन्त्री माननीय सुदर्शन बरालको प्रमुख आतिथ्यमा १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को संयुक्त आयोजनामा मई दिवस मनाइएको हो ।
प्रमुख अतिथि मन्त्री बरालले ५ नम्बर प्रदेशमा नेपाल सरकारले घोषणा गरेको न्युनतम बेतन, श्रम ऐन २०७४ साथै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७५ पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै रोजगारदाताहरुलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन ढिलाई नगर्न सुझाए ।
गर्मीको प्रवाह नगरी मजदुरहरू ¥यालीमा सहभागी भएका थिए । अन्टुफ ५ नम्बर प्रदेश अध्यक्ष दान बहादुर वलीको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको सञ्चालन जिफन्ट बाँके इन्चार्ज टिएन रावलले गरेका थिए भने अन्टुफ बाँके जिल्ला अध्यक्ष बसन्त मल्लले स्वागत मन्तव्य राखेका थिए ।
कर्णाली प्रदेशमा अन्तर्राष्ट्रिय श्रमिक दिवस
कालिकोट । अखिल नेपाल ट्रेड युनियन महासंघ कालिकोटले जिल्ला सदरमुकाम मान्मामा १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । कर्णाली प्रदेशका समाजिक विकासमन्त्री नरेश भण्डारीको प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको हो ।
अन्टुफ कालिकोटका उपाध्यक्ष बर्मा ऐडिको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पेन्टर मजदुर संघका प्रदेश समिति संयोजक भिम बहादुर सिंहले गरेका थिए ।
प्रदेश नं. ७ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस
कञ्चनपुर । महेन्द्रनगरमा अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन महासंघले संयुक्त कार्यक्रमको आयोजना गरी १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ ।
नेकपाका केन्द्रीय सदस्य रामकुमार ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको विशिष्ट अतिथि अन्टुफ उपमहासचिव नरहरिनाथ योगी, प्रदेश नं. ७ संसदीय दल उपनेता तारा लामा तामाङ रहेका थिए । यसैगरी नेकपाका जिज्ला अध्यक्ष बीर बहादुर थापा, जिफन्ट प्रदेश कमिटी उपाध्यक्ष चन्द्रराम विकको आतिथ्यमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको हो ।