१७ बैशाख ०७६, काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीमा ट्रकको ठक्करबाट १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले उग्र रुप लिएको छ
क्याम्पसबाट साइकलमा घर फर्केने क्रममा पछाडिबाट आइरहेको ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमा नै मृत्यु भएपछि सुरु भएको प्रदर्शनले लम्की बजार तनावग्रस्त बनेको हो ।
आक्रोशित विद्यार्थी र स्थानीयले ठक्कर दिने ट्रकलाई जलाउने प्रयास गरेका थिए । प्रदर्शनकारीले तोडफोडका साथै प्रहरीमाथि ढुंगा प्रहार गर्दा ७ जना प्रहरी घाइते भएका छन् ।प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ ।
प्रदर्शनमा लम्की बहुकुखी क्याम्पसका प्राध्यापक प्रेम मुडभरीको टाउकोमा चोट लागेको छ ।घाइतेको लम्कीमा रहेको लालरत्न अस्पतालमा उपचार भैरहेको छ ।
मृतकलाई उचित क्षतिपूर्ति र चालकलाई कारवाही गर्न माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गको लम्की खण्ड अवरुद्ध गरेर प्रदर्शन जारी राखेका छन् ।प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।