५ बैशाख ०७६, भक्तपुर । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद्का अध्यक्ष पुस्कर आचार्यले ट्रेड युनियन गतिविधि वर्तमान संरचना र नीतिअनुसार हुनुपर्ने बताएका छन् ।
आईटीयुसी न्याकले सञ्चालन गरेको ४ दिने प्रशिक्षक प्रशिक्षण पुनर्ताजगी तालिमको सत्रान्तलाई बिहीबार सम्बोधन गर्ने क्रममा आचार्यले यस्तो बताएका हुन् ।
एनटीयुसीका अध्यक्षसमेत रहेका आचार्यले जुनसुकै पार्टी सरकारमा गएपनि सरकारमा पुग्ने बित्तिकै मालिक बन्ने गरेको भन्दै अहिलेको सरकार मजदूर पक्षीय नरहेको बताए ।
‘जुनसुकै पार्टी सरकारमा पुगेपछि मालिक बन्छन्, श्रमिक ‘श्रमिक’ नै रहन्छन्’ आचार्यले भने, ‘तर, अब श्रमिकहरु एकजुट भएका छन् । हामी तीनवटै महासंघ एक भएर श्रमिकको कुरा उठाएका छौं । त्यो राजनीतिक दलहरुले पनि सिक्नु पर्छ ।’
प्रधानमन्त्रीले नयाँ युगको सुरुवात भएको घोषणा गरे पनि श्रमिकले नयाँ युगको अनुभूत गर्न नपाएको भन्दै आचार्यले श्रमिकवर्गले बदलिएको संरचना, कानुन अनुसार हक, अधिकार प्राप्त नगर्दासम्म नयाँ युग सुरुवात नहुने जिकिर गरे ।
जेटीयुसीसीका अध्यक्ष समेत रहेका जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले यस तालिमले अबको ट्रेड युनियन शिक्षा नीति बनाउन सहयोग पुग्ने बताए । उनले भने, ‘प्रशिक्षक प्रशिक्षार्थीहरूले अब सातै प्रदेशलाई समेट्ने गरी देशभरका ५ स्थानमा तालिमको उपलब्धिसँगै लिएर जानेछन् ।’
उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, श्रम ऐन साथै कार्यविधि साझा सहमतिको दस्तावेज भएकाले यसको फाइदा सबै श्रमिकहरूले लिन सक्नु पर्ने बताए ।
अध्यक्ष श्रेष्ठले भने, ‘नयाँ युगको प्राप्ति गर्न, सरकार र ठूला पार्टीलाई सामूहिक दवाब दिन साथै समृद्धिका लागि श्रमिकहरूलाई संगठित गर्न यस तालिमको आयोजना गरिएको हो ।’
अन्टुफ, जिफन्ट र एनटियुसीको साझा समझदारी नेपालको ट्रेड युनियन आन्दोलन एक हुनुपर्छ भनेर नै तीनवटै संगठन एक ठाउँमा आएको र साझा मुद्दा बनाइ अघि बढिरहेको बताए ।
‘हामी शिक्षा नीति एउटै बनाउन चाहन्छौँ, त्यसैले तीनवटै संगठन एकठाउँमा उभिएका छौं । हाम्रो आ–आफ्नै महासंघ छ तर साझा मुद्दामा सँगसँगै जान जेटीयुसीसी बनाएका छौँ ।’ श्रेष्ठले भने, ‘यसलाई पनि चलाउन आइटीयुसी न्याक छ । महत्वपूर्ण कुरा यसपटक हामी तीन वटै महासंघ मिलेर एकैठाउँमा मई दिवस मनाउन गइरहेका छौं ।’
एलओ/एफटिएफका प्रतिनिधि बुद्धि आचार्यको प्रशिक्षकत्वमा बैशाख २ देखि ५ गतेसम्म चलेको उक्त प्रशिक्षक प्रशिक्षण पुनर्ताजगी तालिममा अन्टुफ, जिफन्ट र एनटियुसीका २५ जना विभिन्न तहका नेताको सहभागिता रहेको थियो भने कार्यक्रमको संयोजन आइटियुसी न्याक एडभाइजरी कमिटीका संयोजक एवम् अन्टुफ उपाध्यक्ष जय कार्की, जिफन्ट उपाध्यक्ष विदुर कार्की र एनटियुसीका उपाध्यक्ष तेजेन्द्र कार्की लगायतले गरेका थिए ।