भेरी–बबई डाइभर्सनको ‘ब्रेक थ्रु’ भोलि, प्रधानमन्त्रीले बटन थिचेर टिबिएम निकाल्ने

२ बैशाख ०७६, काठमाडौं । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङको काम सम्पन्न भएको छ ।

सो कार्य सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे बटन थिचेर टनेल बोरिङ मेसिन (टिबिएम)लाई सुरुङ बाहिर निकाल्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि उपस्थित हुनेछन् ।

सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत् सुरुङ निर्माण कार्य सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सम्पन्न गरेको हो ।

बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा आइपुगेको हो । विगतको जस्तो ड्रिलिङ र ब्लास्टिङ जस्ता परम्परागत ढंगबाट भन्दा टीबीएम मेसिनबाट १० गुणा बढी दैनिक २० मिटर सुरुङ खनेपछि लक्ष्य भन्दा अगाडि नै सम्पन्न भएको छ ।

सुरुङ निर्माणमा चिनियाँका साथै नेपाली प्राविधिक तथा कामदार दुई सिफ्टमा गरी चौबिसै घण्टा खटिएका थिए ।

तपाइको मत