लगानी सम्मेलन सफल बनाउन निजी क्षेत्र पनि सक्रिय

१३ चैत ०७५, काठमाडौं । सरकारले आयोजना गर्ने लगानी सम्मेलन सफल बनाउन निजी क्षेत्र पनि सक्रियताका साथ लागिपरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघसमेत सरकारले आयोजना गरेको लगानी सम्मेलनमार्फत् विदेशी लगानीकर्तालाई भित्र्याउन सरोकार भएका संस्थाको रूपमा सक्रिय भएका हुन् ।

‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा पूरा गराउन निजी क्षेत्रका २५ वटा आयोजनालाई ‘शो केश’मा राखेको सरकारले लगानीको वातावरण बनाउन नीतिगत एवं कानूनी सुधारसमेत गरेको छ ।

औद्योगिकरूपमा स्थापित आईएमई समूहले ऊर्जा, सिमेन्ट, केबलकार लगायत परियोजनामा लगानी भित्र्याउने गरी काम शुरु गरेको छ ।
नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित बिदेशी कूटनीतिक नियोगका प्रतिनिधि गैर-आवसीय नेपाली, विकास साझेदार संस्था साथै निजी क्षेत्रको सहभागिता रहने लगानी सम्मेलनमा ४० मुलुकका प्रतिनिधि सहभागी हुनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार काठमाडौंमा शुक्रबार र शनिबार आयोजना हुने लगानी सम्मेलनलाई सफल बनाउन निकै उत्साहित भई लागेको छ । उक्त सम्मेलनमा लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार, शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरू प्रस्तुत गर्ने बताइएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाकाअनुसार विदेशी लगानीकर्तालाई सुरक्षाको उचित प्रबन्ध हुनेछ साथै सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारी तथा सम्झौतामा हस्ताक्षर गर्ने गृहकार्य पनि भइरहेको छ । उनले सम्मेलनमार्फत नेपाल लगानीको लागि उत्कृष्ट गन्तव्य रहेको सन्देश दिने जानकारी दिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माकाअनुसार लगानीका लागि वातावरण बनाउन सरकारले महत्वपूर्ण प्रयास गरेकाले सम्मेलनलाई सफल बनाउनु सबैको दायित्व भएको बताए । उनले सम्मेलनबारे नकारात्मक टिप्पणी नगर्नसमेत आग्रह गरे ।

तपाइको मत