१० चैत ०७५, राजविराज । सप्तरीको बोदे बर्साइन नगरपालिका–७ हैंठीमा बाबुले छोरालाई पाकेट खर्च नदिँदा छोराले घरमा लागो लगाएका छन् ।
बाबु बालेश्वर यादवले छोराले मागेका पाकेट खर्च दिन अस्वीकार गर्दा २२ वर्षीय राजु यादवले आफ्नै घरमा आगो लगाएका हुन् ।
इलाका प्रहरी कार्यालय, बोदे बर्साइनका सई प्रदीप सिंहले बावुले खर्च दिन अस्वीकार गरेपछि राजुले मोटरसाइकलबाट पेट्रोल निकालेर आगो लगाएको जानकारी दिए ।
राजुले घरमा आगो लगाएर फरार भएपनि समयमै आगो नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट भने बचेको सई सिंहले बताए ।
त्यस्तै, राजविराज नगरपालिका वडा १४ मा आईतवार बिहान भएको आगलगीमा एकै परिवारको दुई घर जलेर नष्ट हुँदा सात लाख बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार राजविराज १४ निवासी सुरेन्द्र मण्डलको घरमा आगलगी हुँदा नीजको दुई घरका साथै लत्ताकपडा, भाडा कुडा, फर्निचर, सुनचाँदीका गरगहना र नगद तीन लाख रुपैयाँ समेत जलेर नष्ट भएको छ ।
स्थानीयवासी, प्रहरी र सेनाको सहयोगमा एक घण्टाको प्रयासपछि आगोमाथि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलगीको कारण भने खुल्न नसकेको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । आगलगीबाट करिब सात लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।