७ चैत्र ०७५, काठमाडौं । मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनमा विद्यार्थीहरुबाट लिएको बढी शुल्क एक महिनाभित्र फिर्ता गर्नुपर्ने भएको छ ।
बिहीबार शिक्षा मन्त्रालयमा भएको बैठकमा सरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुले बढी शुल्कको रकम एक महिनाभित्र फिर्ता गर्ने सहमति भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेल, त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ, विद्यार्थी संगठनहरुलगायत सरोकारवाको उपस्थितिमा मन्त्रालयमा बसेको बैठकमा कलेज सञ्चालकले शुल्क फिर्ता गर्ने सहमति गरेको हो ।
रकम फिर्ता गरेको वा नगरेकोबारे विश्वविद्यालयका प्रतिनिधि, मन्त्रालयका प्रतिनिधि र कलेज सञ्चालकका प्रतिनिधिहरुले संयुक्त रुपमा अनुगमन गर्ने छन् ।
सरकारले एमबीबीएसका विद्यार्थीसँग काठमाडौं बाहिरका मेडिकल कलेजले ४२ लाख ४५ हजार रुपैयाँ लिन पाउने नियम बनाए पनि गण्डकी मेडिकल कलेजले १० देखि १५ लाखसम्म बढी शुल्क लिएको छ ।
विद्यार्थीहरुले गण्डकी मेडिकल कलेजका सञ्चालकविरुद्ध जिल्ला अदालतमा ठगी मुद्दासमेत दायर गरेका छन् ।
विद्यार्थीबाट असुलेको रकम फिर्ता गर्नुपर्ने माग गर्दै सत्तारुढ दल नेकपाकै विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ, चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डीन डा. जगदीश अग्रवालको कार्यालयमा ताला लगाएका थिए । रकम फिर्ता हुने भएपछि विद्यार्थीहरुले लगाएको ताला पनि खोल्ने भएका छन् ।