२७ फागुन ०७५, काठमाडौं । इथियोपियामा आइतबार भएको विमान दुर्घटनामा गोरखाका २८ वर्षीया एकता अधिकारीले ज्यान गुमाएकी छिन् ।
२०७२ सालको भूकम्पदेखि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मा आवद्ध भएर नेपालमा काम गरेकी अधिकारी आठ महिना अघि इथियोपिया स्थित राष्ट्रयसंघीय विश्व खाद्य कार्यक्रममा काम गर्न इथोपिया पुगेकी थिइन् ।
पुख्यौली थलो पालुङटार नगरपालिका–१० मिरकोटस्थित लाजिकोट घर भएकी अधिकारीको परिवार करिब २० वर्ष पहिले छेवेटार बसाइँ सरेका थिए । हाल उनका परिवार प्राय काठमाडौँ वनस्थलीमै बस्दै आएका थिए ।
अधिकारीका कान्छा काका ध्रुव अधिकारीका अनुसार परिवारका तीन छोरी मध्ये एकता कान्छी हुन् । एकताका दुईजना दिदी अमेरिकामा छन् भने एक जना भाइ बालाजुस्थित घरमा छन् भने छोरी ज्वाइ भेट्न अमेरिका पुगेका बाआमा एकताको निधनको खबर सुनेपछि नेपाल फर्कने तयारीमा छन् ।
एकताले काठमाडौंस्थित सेण्ट मेरिज स्कूलबाट माध्यमिक तह उत्तीर्ण गरेकी थिइन् भने बेलायतबाट एमएससी सकेर चार वर्ष अघि नेपाल फर्केकी थिइन् ।
इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको थियो ।
दुर्घटनाबारे ट्विट गर्दै एअरलाइन्स र केन्याको स्ट्यान्डर्ड मिडिया अनलाइनले दुर्घटनामा ३२ देशका नागरिकले ज्यान गुमाएकोमा एक नेपाली पनि परेको उल्लेख गरेको थियो ।