२२ फागुन ०७५, काठमाडौं । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
बुधबार न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो ।
यो घटनामा ३ जना अभियुक्तले सफाइ पाएका छन् । टीकापुर हत्याकाण्डपछि पक्राउ परेर हाल थुनामा रहेका १२ जनालाई २ देखि ३ वर्षसम्म कैद सजाय भएको छ ।
मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) अनुसार जन्मकैद सजाय पाउनेमा रेशम चौधरी, हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृज मोहन डगौरा, राजेश चौधरी, विर बहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी, श्रवण चौधरी रगंगाराम डगौरा चौधरी रहेका छन् ।
उनीहरु मध्ये श्रवण नावालक भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११ (३) अनुसार आधा सजाय १० वर्ष मात्र कैद हुनेछ ।
अदालतले लक्षण थारुसहित १२ जना प्रतिवादीलाई तीन वर्ष कैद सजाय सुनाएको छ । लक्षण थारुसँगै लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भन्ने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किशानलाल चौधरी, दिलबहादुर चौधरी, संगम भन्ने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्कीराम चौधरी र रामप्रसाद चौधरीलाई यो सजाय सुनाइएको हो । १२ जना मध्ये ११ जना आजै थुनामुक्त हुनेछन् भने चुन्नीराम ३० गते थुनामुक्त हुनेछन् ।
अर्का प्रतिवादी करन चौधरीलाई ६ महिना कैद सजाय सुनाइएको तर उनले यो सजाय भुक्तान गरिसकेकाले आजै छुट्ने छन् ।
अदालतले नरुल अलि जाथा भन्ने तहाँवर अली जागा, विसराम चौधरी (कुस्मी) र रामनरेश चौधरीलाई सफाइ दिएको छ ।
मधेसी–थारु आन्दोलनका क्रममा २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा ७ प्रहरी र एक नाबालकक सहित ८ जनाको मृत्यु भएको थियो ।