१२ फागुन ०७५, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले संसदमा हालै दर्ता भएको सूचना प्रविधिसम्बन्धी विधेयक २०७५ ले सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रलाई नै असर पार्ने भन्दै आपत्ति जनाएको छ ।
केन्द्रीय कार्यसमितिको बैठकपछि आइतबार जारी प्रेस विज्ञप्तिमा फौजदारी संहितामा रहेको प्रेस स्वतन्त्रता कुण्ठित गर्ने केही प्रावधान संशोधन गर्नु पर्ने उल्लेख गरिएको छ ।
‘फौजदारी संहितामा रहेको प्रेस स्वतन्त्रता कुण्ठित गर्ने केही प्रावधान सच्याउन जारी रहेको नेपाली काँग्रेसको पूर्ववत् धारणा पुनः स्मरण गराउँदै यो बैठक सो संहितालाई संशोधन गरिनुपर्ने आवश्यकताप्रति गम्भीर हुन र संशोधन प्रक्रिया प्रारम्भ गर्न सरकारसँग जोडदार माग गर्दछ’, विज्ञप्तिमा अघि भनिएको छ, ‘संसदमा हालै दर्ता भएको सूचना प्रविधिसम्बन्धी विधेयक २०७५ ले सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रलाई नै असर पर्ने र गर्ने गरी निर्मित प्रावधानहरूप्रति आपत्ति प्रकट गर्दछ ।’
शुक्रबार देशका विभिन्न स्थानमा भएको बम विस्फोटका घटनाबारे कुनै पनि बाहनामा हिंसात्मक गतिविधिले प्रवेश पाउनु दुखद रहेको भन्दै काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले शान्ति सुरक्षा कायम गर्न सरकार गम्भीर बन्नु पर्ने सुझाएको छ ।
आज बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले फागुन १४ गते बिहन ११ बजे अर्को बैठक बस्ने गरी महासमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव, आर्थिक प्रतिवेदन परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।