सडक विस्तारका क्रममा व्यक्तिगत जग्गा मिचेको भन्दै न्यायका लागि पहल गरिदिन आग्रह

२९ माघ ०७५, राजविराज । सडक विस्तारका नाममा व्यक्तिगत जग्गामा वलजफती नाला निर्माण गर्न लागिएको भन्दै एक दम्पत्तीले न्यायका लागि पहल गरिदिन सरोकारवालासँग आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा दम्पति ।

मंगलबार पीडित राजविराज ६ निवासी महाविर लाल देव र उनकी पत्नि रञ्जु देवले पत्रकार महासंघको सभा कक्षमा पत्रकार सम्मेलनको आयोजना गरी आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा लाल देवले सो वडामा वनाउन लागिएको ८ मिटर चौडा सडक निर्माणका लागि नपुग ४ मिटर जग्गा दुवैतर्फवाट २/२ मिटर लिने सहमति भएपनि ठेकेदार पक्षले त्यसो नगरी आफुलाई अन्यायमा पर्ने गरी एक पक्ष्ीाय ढंगले आफनो स्वामित्वमा रहेको कि नं. ७२० को ४ मिटर जग्गा मिच्नेगरी नाला निर्माण थालेको बताए ।

महाविरकी पत्नि रञ्जुदेवीले सहमति अनुसार नभएकाले प्रतिवाद गर्दा वडा अध्यक्ष प्रेम यादव र ठेकेदारसहितको टोलीले धम्क्याउने गरेकोसम्मेलनमा गुनासो गर्दै भने– ‘हामी नाला र सडक निर्माणको विरोधमा छैनौं तर, दुवैतर्फवाट २÷२ मिटर लिनुपर्छ, कोहि एकलाई मात्र मार्कामा पार्नु हुन्न ।

उनले पत्रकार सम्मेलनमा ठेकेदार विरुद्ध उच्च अदालत जनकपुर, राजविराज इजलासमा निशेधाज्ञा मुद्दा दायर गरेको जानकारी पनि दिईन् । सो मुद्दा उपर सुनुवाई गरेको न्यायाधिसद्वय तिलप्रसाद श्रेष्ठ र विपुल न्यौपानेको संयुक्त इजलासले सो जग्गामा सम्वन्धित पक्षको रोहवरमा स्थलगत सर्जमिन मुचुल्का सहित ५ फागुनमा दुवै पक्षलाई छलफलका लागि झिकाईएको अदालत श्रोतको भनाई छ ।

यता वडा अध्यक्ष यादवले कसैलाई काखा र पाखा नगरिएको दावी गर्दै सडक र नाला निर्माणका क्रममा सडकको दुवैतर्फवाट सहमति अनुसार वरावरी जग्गानै लिईएको बताए ।

अध्यक्ष यादवले दिर्घकालिन योजनाका साथमा सडक र नाला निर्माण कार्य अघि बढेकाले यसलाई रोक्नु विकासलाई रोक्नु जस्तै भएकाले नाला र सडक निर्माण कार्य रोक्न देव दम्पत्ती कसरत थालेको बताए ।  ‘सम्झौता अनुसार निर्माण कम्पनीले यतिखेर काम सुरु गरिसकेको छ, यस क्रममा कतिपयले घरसहितको भौतिक संरचना हटाएर सहयोग पनि गरिरहेका छन्’ उनले भने –‘यस्तोमा वखेडा झिकेर विकास कार्यलाई रोक्ने प्रयासले कसैको भलो हुँदैन ।’

अध्यक्ष यादवले  सडक र नाला निर्माणका क्रममा कसैलाई काखापाखा नगरी सवैको वरावरी जग्गानै प्रयोगका लागि लिएको दावी गरेका छन् ।

तपाइको मत