रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी पुनर्निर्माण प्राधिकरणलाई

२१ माघ ०७५, काठमाडौं । सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रदान गरेको छ ।

माघ १४ गतेको मन्त्रिपरिषद् बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण सम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, विज्ञ, सरोकारवाला संघसंस्था, स्थानीय समुदाय लगायतसँगको परामर्श र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गर्ने बताए । उनले भने–‘परम्परागत शैली र मौलिकतालाई विेशेष ध्यान दिई पुनर्निर्माण कार्यलाई तत्काल अघि बढाइनेछ ।’

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गुम्बज शैलीमा गर्ने कि ग्रन्थकुटरशिखर शैलीमा गर्ने भन्ने विवाद थियो । विज्ञहरुले दिएको सुझाव समेतका आधारमा प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, पुरातत्व विभाग एवं काठमाडौं महानगरपालिका लगायतसँग समन्वय तथा सहजीकरण गरी ग्रन्थकुटरशिखर शैलीमा पुनर्निर्माण गर्ने निर्णय गरिसकेको छ ।

तपाइको मत