८ माघ ०७५, रुपन्देही । प्रदेश ५ प्रदेश सभाको अर्थ,उद्योग तथा पर्यटन समितिले मापदण्ड बिपरीत नदिजन्य पदार्थको उत्खनन् तत्काल रोक्न र खानी सञ्चालनका लागि अनुमति दिइएका स्थानहरुको विवरण तीन दिन भित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको समितिको बैठकले उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयलाई उक्त निर्देशन दिने निर्णय गरेको हो ।
नदिजन्य पदार्थ उत्खनन्का लागि ठेक्का नलागे पनि अवैध रुपमा उत्खनन् गरी चोरी निकासी भैरहेको र ठेक्का भएका स्थानहरुमा पनि मापदण्ड विपरीत र तोकिएभन्दा बढी परिमाणमा निकालेर चोरी निकासी भैरहेको भन्दै समितिले मापदण्ड विपरीत सञ्चालित खानी तत्काल बन्द गर्न र अनुमति दिइएका ठाउँहरुको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
अवैध रुपमा भैरहेको नदिजन्य पदार्थको उत्खनन् र चोरी निकासीले राज्यलाई राजश्वमा घाटा लागेको समितिको ठहर छ ।
समितिका सभापति दधिराम न्यौपानेले नदिजन्य पदार्थको चोरी निकासीमा ठुलै गिरोहको संलग्नता रहेको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी अनुगमन र सम्बन्धित निकायलाई सचेत गराउन आवश्यक रहेको बताए ।