सांसद उषा : कपाल मुण्डन गरेर किरियापुत्री

२६ पुस ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतृ उषाकला राईले कपाल मुण्डन गरेर आफ्नी आमाको किरियापुत्री बसेकी छन् ।

आमा लक्ष्मी राईको निमोनियाको उपचारका क्रममा ग्राण्डी अस्पतालमा बुधबार ७५ वर्षको उमेरमा निधन भएपछि प्रदेश सभा सदस्य समेत रहेकी राईले आफैं किरिया बस्ने निर्णय गरेकी हुन् ।

दाजुभाइ नरहेका सांसद उषाले कपाल मुण्डन गरेर किरियापुत्री बसेकी छन् । पूर्वकानुनमन्त्री तथा उषाका श्रीमान शेरबहादुर तामाङले पाँच दिनसम्म काठमाडौंमा किरिया बस्ने र त्यसपछि जन्मघर खोटाङ जाने जानकारी दिए ।

‘उषाजी तपाईं साँच्चै महान हुनुहुन्छ’ पूर्वकानुनमन्त्री एवम् सांसद तामाङले श्रीमतीको निर्णयको उच्च सम्मान गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री बसेर समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम ।’

तपाइको मत