प्रधान न्यायाधीशमा जबराको नाम सर्वसम्मत अनुमोदन

१७ पुस ०७५, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

मंगलबार सुनुवाई सकिएलगत्तै समितिले राणाको नाम प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो । संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

गत मंसिर २७ गते संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश मध्येबाट जबराको नाम भावी प्रधानन्यायाधीशमा सर्वसम्मतीबाट सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले संवैधानिक समितिको सिफारिस स्वीकृत गरेमा राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ । अब राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछिन् ।

संसदीय सुनुवाई विशेष समितिमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफमा जबराले आफू अदालती सेवाबाट निस्कने बेलामा अनुहारमा कालो पोतेर नहिँड्ने बताए । ‘म अब निस्कने बेलामा आफ्नो अनुहारमा कालो पोतेर, कोतरेर, नचिनिने भएर, कुरुप भएर जाने छैन् । अदालतको विश्वास र आस्था बचाएर राख्ने छु ।’

२०१४ मंसिर २८ गते जन्मिएका जबरा २०७१ जेठ १३ देखि सर्वोच्च अदालतमा न्यायाधीश छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आजदेखि नै अवकाश पाएका छन् ।

तपाइको मत