१ पुस ०७५, काठमाडौं । श्रीमती र छोरीको हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
२५ वर्षीया पत्नी लालमुन खातुन र १ वर्षीया छोरी रोशन खातुनको हत्या गरेका आरोपमा प्रहरीले भारत विहार राज्यका मोहमद रमजान मिया दर्जीलाई पक्राउ गरेको हो ।
दर्जीले २ साताअघि आफ्नी पत्नी र छोरीको हत्या गरी हेटौंडा नगरपालिका–१९ नेवारपानीस्थित राप्ती खोलामा फालेर फरार भएको प्रहरी जनाएको छ
गत मंसिर १८ गते बालिकाको र मंसिर २२ गते महिलाको शव राप्तीखोलामा फेला पारेपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो । महिलाको खल्तीमा केही टेलिफोन नम्बर देखिएपछि प्रहरी घटनाको नजिक पुगेको थियो ।
पारिवारिक विवादका कारण दर्जीले भारतबाट आएका आफ्नो भाइसँग मिलेर श्रीमती र छोरीको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
दर्जीको परिवार कामको सिलसिलामा हेटौंडा आएका थिए । केही दिनको फरकमा दुईवटा लास फेला परेपछि प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा अनुसन्धान टोली खटाइएको थियो ।
दर्जीलाई पर्साबाट प्रहरीले नियन्त्रणमा लिएको हो भने दर्जीका भाइ अरमान मियाँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।