११ मंसिर ०७५, काठमाडौं । सरकारले श्रमिकका लागि योगदानमा आधारित समाजिक सुरक्षा योजना घोषणा गरेको छ ।
सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा उक्त कार्यक्रमको घोषणा गरेका हुन् ।
कार्यक्रमको उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले भने –‘आज हामी एउटा नयाँ प्रकृतिको कार्यक्रममा सरिक हुँदैछौं । सिंगो नेपाली समाजलाई एउटा नयाँ युगतर्फ प्रवेश गराउँदैछौँ । हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबै नागरिकलाई समेट्ने नयाँ प्रणालीको थालनी गर्दैछौं ।’
प्रधानमन्त्री ओलीले भने–‘मैले पहिलो पटक प्रधानमन्त्री हुँदा भनेको थिएँ, यो सरकारले सबैका लागि सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्छ । आजको यो कार्यक्रम, त्यसैको निरन्तरता हो भन्न पाउँदा मलाई गर्व लागि रहेको छ ।’
उनले थपे –‘सबैले सोध्ने एउटै प्रश्न सरकार कहाँ हरायो, कहाँ छ रु के गर्दैछ रु आज म भन्न चाहन्छु, सरकार यहाँ छ, श्रमजीवी जनताको बीचमा छ । उनीहरुको भविष्य सुरक्षित गर्ने योजना निर्माणमा तल्लीन छ । त्यसलाई लागू गर्न कटिबद्ध छ ।’ उनले भने, ’भोली कसैकसैले भन्न पनि सक्छन् यो तामझाम किन रु मेरो जवाफ हुनेछ– ‘देखिन, थाहा पाइन’ भन्नेहरुलाई ‘देखिने गरी, सुनिने गरी’ हाम्रा योजनाको जानकारी गराउन आजको कार्यक्रम आयोजना गरिएको छ ।’
प्रधानमन्त्रीका अनुसार यो कार्यक्रम मार्फत २५ वर्ष अघि थालेको सामाजिक सुरक्षा कार्यक्रममा थप नयाँ आयाम थपिएको छ ।
सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन हुनेछन् ।
सामाजिक सुरक्षा योजनामा योगदानको लागि रोजगारदाताले श्रमिकको न्यूनतम पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी उक्त रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी ३१ प्रतिशत बराबर कोषमा जम्मा गर्नुपर्नेछ ।
६ महिना योगदान गर्ने श्रमिकले अर्को ६ महिनासम्म चिकित्सकको परामर्श सेवा, अस्पताल भर्नाबापतको शुल्क, निदान तथा परीक्षण सेवा बापतको खर्च औषधि बिल बमोजिमको खर्च, घरमै बसी उपचार गराउनुपर्ने अवस्थाका बिरामीको डाक्टर घर जाँदा–आउँदाको खर्च पाउने सुविधा छ ।
दुर्घटना भई आवश्यक भएकोमा बाहेक प्लास्टिक सर्जरी तथा दाँतको उपचार खर्च वारियर्टिक सर्जरी (वोसो निकाल्ने) बापतको खर्च, महामारी भई कोषले स्वास्थ्य सुविधा निलम्बन गरेको अवस्थामा भने सुविधा पाउने छैन । अस्पताल भर्ना भई उपचार गराउँदा वर्षमा एक लाखसम्म, घरमै बसी उपचार गराउँदा वर्षमा २५ हजार रुपैयाँसम्म सुविधा पाउनेछ । कुल दाबीको २० प्रतिशत मात्रै श्रमिकले तिर्नु पर्नेछ । बिरामी बिदामा बस्दा १२ दिन बिरामी बिदाबापत पुरै पारिश्रमिक रोजगारदाताबाट पाउने, त्यो भन्दा बढी बिरामी बिदामा बस्नु पर्दा १३ हप्तासम्मका लागि आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम कोषबाट पाउने सुविधा छ ।