५ मंसिर ०७५, रुपन्देही । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ ।
लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले बुधबार लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरेका हुन् ।
पञ्चशील क्षेत्र घोषणा गर्दै मन्त्री अधिकारीले लुम्बिनी शान्ति र अहिंसाको भूमि भएकाले यस क्षेत्रभित्र हत्या, हिंसा, चोरी व्यभिचार र मदिरापान गर्न नपाइने बताए ।
मन्त्री अधिकारीले कार्यक्रम घोषणा गर्नु मात्रै ठूलो कुरा नभएको बताउँदै व्यवहारिक कार्यान्वयनमा विशेष जोड दिदैँ लुम्बिनी क्षेत्रको विकास सरकारको प्राथमिकतामा परेकाले अबको तीन वर्षमा लुम्बिनी विकास क्षेत्रको गुरुयोजना पूरा हुने दाबी गरे ।
कार्यकक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुतले बुद्ध धर्मको पहिलो आधार नै पञ्चशील भएकाले बुद्ध जन्मभूमिलाई पञ्चशील क्षेत्र घोषणा गरिएको बताए ।
पञ्चशील क्षेत्र घोषणासंगै अब लुम्बिनी गुरुयोजनाले समेटेको क्षेत्रभित्र पशु काटमार, मासु सेवन र मदिरा सेवन निषेध हुनेछ । प्राणी हिंसाबाट टाढा रहनु, मद्यपान नगर्नु, झूटो नबोल्नु, चोरी नगर्नु र व्यभिचार नगर्नु बुद्धका पञ्चशील सिद्धान्तमा पर्दछन् ।