२५ कार्तिक ०७५, राजविराज । दशैं, दिपावली लगत्तै मनाउने साझा पर्वको रुपमा छुट्टै पहिचान बनाएको छठ आज (आइतबार) देखि विधिवत रुपमा सुरु भएको छ ।
सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वासका साथ यो पर्व चार दिनसम्म मनाउने गरिन्छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको सूर्यलाई र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ ।
मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।
सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।
सुरुमा तराइवासीहरूले मात्र मनाउने छठ पर्व हिजोआज अन्य जाति एवं राजधानी लगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएपछि यस पर्वलाई साझा पर्वको रुपमा मनाउन थालिएको छ ।