१८ कार्तिक ०७५, राजविराज । प्रदेश नम्वर २ का भूमी, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मूलुकको राजनैतिक परिवर्तनमा गैर सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
पहिलो नागरिक सम्मेलन तथा गैरसरकारी संस्था महासंघ नेपाल सप्तरीको ९ औं अधिवेशनको सम्बोधन गर्दै मन्त्री साहले सो कुरा बताउनु भएका हुन् ।
अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री साहले भने–‘दातृ निकायले गरेको अर्बौको लगानी अनुरुप प्रतिफल आउन सकेन् तर, राजनैतिक परिवर्तनमा भने गैससहरु कै महत्वपूर्ण योगदान रहेको छ ।’
गैससहरुको विषयगत पक्षमा दक्षता कमजोर रहेको भन्दै मन्त्री साहले उनीहरुको प्रतिफल सन्तोषजन नरहेको गुनासो व्यक्त गरे ।
सप्तरी जिल्लामा दुई दशकदेखि गैससले कार्य क्षेत्रलाई बिस्तार गरेको बताउँदै मन्त्री साहले आउने दिनमा प्रदेश सरकारले गैससहरुसँग समन्वय गरी मैत्रीपूर्ण गैसस ऐन ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।
एक अर्को प्रसङ्गमा संघीय समाजवादी फोरम नेपालका राजनीतिक विभाग सदस्य समेत रहेका मन्त्री साहले मुलुक संघीय संरचना गइसकेको अवस्थामा समेत संघीय सरकारले अझै सो संरचना स्वीकार गर्न नसकेको आरोप दगाउँदै प्रदेश सरकारले निर्माण गरेको ऐनप्रति संघीय सरकार बाधक भइरहेको उल्लेख गरे ।
हालै मात्र प्रदेश नं. २ को सरकारले प्रहरी ऐन बहुमतले पारित गर्दा समेत संघीय सरकार सो ऐन संघीय सरकारसँग टक्कर लिन बनाइएको भन्दै बिरोध गरिरहेको अवस्थामा प्रहरी ऐन प्रदेशका जनताको चाहना अनुरुप ल्याइएको दाबी गरे । उनले भने –‘प्रदेशमा स्थानीय सुशासन कायम गर्नका लागि प्रहरी एने ल्याइएको हो, यो ऐन लागु भए मात्र स्थानीय स्तरमा सुशासन कायम हुन्छ ।’
यस्तै सो अधिवेशनको उद्घाटन सत्रमा विभिन्न वक्ताहरुले गैससहरुले गरेको क्रियाकलापहरु सकारात्मक भएको बताउँदै यसले समाज परिवर्तनमा उल्लेख्यीय भूमिका खेलेको धारणा व्यक्त गरेका थिए ।
गैर सरकारी संस्था महासंघ चौधरी
राजविराज गैर सरकारी संस्था महासंघ नेपाल सप्तरीको ९ औं जिल्ला अधिवेशनबाट शम्भुनन्द चौधरीको अध्यक्षतामा ५ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन भएको निर्वाचन समितिले घोषणा गरेको छ ।
घोषित कार्य समितिको उपाध्यक्षमा दिपक कुमार झा, कोषाध्यक्ष बौवालाल यादव रहेका छन भने खुला सदस्यमा ईन्द्र प्रसाद राम, दिपेन्द्र प्रसाद देव, उपेन्द्र साह, नविन नरसिह नेपाली, बलदेव कुमार मण्डल, पार्थो सरकार, ललिता देवी मण्डल, राजेश कुमार राम रहेका छन् ।
त्यसैगरी महिला सदस्यमा सुरमिला कुमारी चौधरी, रुनिका राम, सुमिता कुमारी साह र सरिता साह रहेका छन् । निर्वाचित कार्य समितिको घोषणा शम्भुनन्द चौधरीको अध्यक्षता तथा महासंघका केन्द्रीय उपाध्यक्ष सृजना दनुवारको प्रमुख आतिथ्यमा घोषणा गरिएको निर्वाचन समितिले जनाएको छ ।