अस्पतालबाटै प्रधानमन्त्रीद्वारा वक्तव्य जारी

१३ कार्तिक ०७५, काठमाडौं । शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल र केही डिजिटल मिडियाबाट आफ्नो स्वास्थ्य अवस्थाका बारेमा आधारहित प्रचार भएकोप्रति आपत्ति जनाएका छन् ।

मंगलबार साँझ अस्पतालबाटै सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक रुपमा सनसनी बनाएर गरिएका प्रचारवाजीबारे आफू जानकार रहेको भन्दै सो कुरा बताएका हुन् ।

ओली सोमबार विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । उनको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

मौसमी रुघाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफू अस्पताल भर्ना भएको समेत वक्तव्यमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता र स्वास्थ्यलाभको कामनाका लागि धन्यवाद दिएका छन् ।

तपाइको मत