वामदेव काठमाडौं ७ बाट चुनाव नलड्ने

२५ असोज ०७५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतम काठमाडौं ७ बाट चुनाव नलड्ने भएका छन् ।

पार्टी सांसदलाई राजीनामा गराएर आफू उपचुनाव लड्ने योजनाको पार्टीभित्र र बाहिरबाट चतर्फी आलोचना भएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेका हुन् ।

गौतमलाई सांसद बनाउन भन्दै काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पद छाड्न तयार रहेको पत्र सचिवालयमा बुझाए लगतै सांसद मानन्धरले सार्वजनिक रुपमै राजीनामा दिने घोषणा गरेका थिए । तर, परामर्श नै नगरी राजीनामा दिने रामवीरको पत्र सचिवालयमा प्रस्तुत भएपछि नेताहरु आश्चर्यमा परेका थिए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका बहसंख्यक नेता गौतमलाई चुनाव लडाउने पक्षमा देखिएनन् ।

चौतर्फी आलोचनापछि पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले बुधबार साँझ सचिवालयका नेताहरुसँग परामर्श गरे । उनले प्रधानमन्त्री एवं अध्यक्ष ओली र अध्यक्ष प्रचण्डसहितका नेताहरुसँग छुट्टाछुट्टै सम्वाद पछि नेतृत्वबाट सकारात्मक प्रतिक्रिया नपाएपछि गौतम चुनाव नलड्ने निर्णयमा पुगेका छन् ।

तपाइको मत