२२ असोज ०७५, गुल्मी । सामाजिक विकासमन्त्री सुर्दशन बरालले पढेकाले सर्टिफिकेट सिरानी हालेर सुत्नपर्ने अवस्थालाई अन्त्य गर्ने बताएका छन् ।
सोमबार गुल्मीको ईश्मा गाउँपालिका–२ को पालुखा माध्यमिक विद्यालयमा आयोजित धार्मिक तथा शैक्षिक महोत्सवको उद्घाटन गर्दै मन्त्री बरालले सो कुरा बताएका हुन् ।
माध्यमिक विद्यालयमा कक्षा ११ र १२ सञ्चालन गर्नका लागि आयोजना गरेको धार्मिक तथा शैक्षिक महोत्सवमा मन्त्री बरालले २१ औँ शताब्दीमा संसारको जुनसुकै कुनामा उपस्थित भएर प्रतिस्पर्धा गर्न सक्ने योग्य युवा उत्पादन गर्न सरकार लागि परेको बताए ।
मुलुकको साधारण शिक्षा सँगसँगै प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएकाले त्यसका निम्ति गाउँमा प्राबिधिक शिक्षा आवश्यक रहेको बताए । मन्त्री बरालले भने, ‘वर्तमान समय प्रबिधिमय भएकाले र गाउँघरमै बसी घरकै उत्पादन खाएर प्राबिधिक शिक्षा हासिल गर्ने गरी प्रदेश सरकार लागि परेको छ ।’
मन्त्री बरालले प्राबिधिक शिक्षा मार्फत देशमा विद्यमान बेरोजगारलाई अन्त्य गर्न सक्ने आधार भएकोले अब गाउँकै विद्यालयहरुमा विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशालाहरुलाई मध्यनजर राख्दै प्रविधिसँग जुध्ने गरी अबको शिक्षा आवश्यकता भएको बताए ।
सोमबारबाट सुरु भएको शैक्षिक तथा धार्मिक महोत्सव असोज ३० गतेसम्म सञ्चालन हुने महोत्सव मुल आयोजक समितिका संयोजक टिकाबहादुर रेश्मीले बताए । महोत्सवबाट उठेको रकमबाट विद्यालयले आगामी वर्षदेखि कक्षा ११ को पठनपाठनसमेत सुरु गर्ने लक्ष्य लिएका छन् ।