१२ असोज ०७५, काठमाडौं । नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक काठमाडौंमा सुरु भएको छ ।
नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ संयन्त्रको बैठक राजधानीमा सुरु भएको हो ।
बैठकमा नेपालकातर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक ही याङले नेतृत्व गरेका छन् ।
बैठकमा विद्युतको माग तथा आपूर्तिको अवस्था, आगामी दिन बढ्ने ऊर्जा मागको प्रक्षेपण, आयोजनाहरुको विकासको अवस्था, संयुक्त रुपमा आयोजना निर्माणका कार्ययोजना, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विषयमा छलफल हुने बताइएको छ ।
ऊर्जा संयन्त्रको बैठक शुरु भएको जानकारी दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले ऊर्जा तथा जलस्रोतका क्षेत्रमा गर्न सकिने सहकार्यका विविध पक्षबारे छलफल हुने जानकारी दिए ।
गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणका क्रममा भएको सहमतिअनुसार नै बैठक आयोजना गरिएको मन्त्रालयले जनाएको छ । रासस